आदर्शको हत्या र हाम्रो भविष्य
हाम्रो वैज्ञानिक विश्लेषणको कुनै सिमा नै छैन। विवेक हराएको पनि भन्दिन?
हामीले वैज्ञानिक हुने नाममा उस्तै देखेका कुराहरु।
राम र रावण उस्तै, कृष्ण र कंश उस्तै, अर्जुन भन्दा त कर्ण माहान, दुर्योधन पनि त भिम भन्दा कम सहि छैन नि, माओ र गान्धी पनि उस्तै, पृथ्वीनारायण शाह र बाबर त झन ठ्याक्कै उहि, स्टालिन र जर्ज वासिङटन उहि ड्याङ्का मुला, मोदि त हिट्लर नै हुन क्यार, ब्रिटिस उपनिवेश र नेपाल वा जापान एकिकरण झन उस्तै। कलिलै उमेरमा विना प्रतिकार आफ्नो प्राणको आहुति डरपोक जिजस र खुँखार युद्ध सरदार चङगेज खान पनि उस्तै। के नै फरक छ र यीनमा?
के रावणले युद्ध जितेको भए हामी रावणको पूजा गर्थ्यौँ त? रामको सिता र उतराखण्डमा शम्बूक प्रतिको व्यवहारले के हामीलाई रावणको पूजारी बनाउन सक्थ्यो? के अमेरिका पतन भएर सोभियत संघ सफल भएको भए स्टालिन माहान हुन्थे त, हाम्रो आजको विश्व झन उच्च कोटिको हुन्थ्यो? जर्ज वाशिंटन कैयौँ निर्दोश दासहरुको मालिक भएकोमा, के स्वतन्त्रता र क्रुर तानाशाहि बीचको दुरी समाप्त हुन्छ त? के माओको क्रान्तिले “जिते” जस्तै गान्धीको आन्दोलन हारेको भए राम्रो हुन्थ्यो त? के अहिंशा भन्नी कुरा शत्रुको भौतिक सफाया जतिकै अनैतिक हो त? के बाबरले नेपाल पनि कब्जा गरेको भए झन राम्रो हुन्थ्यो त?
अब कृष्णाष्टमी र राम नवमी होइन कंशाष्टमी र रावण जयन्ती मनाउँ। माओ दिवस अब पार्टिको होइन, राष्ट्रिय एकताको दिवस होस। अब कर्ण र दुर्योधन हाम्रा नायक। लाछि युधिष्ठिर र नपुङ्शक अर्जुन त भयङकर खलनायक। अर्को एउटा माहाभारत लेखौँ पापी कृष्ण दैत्य भएको र धर्मात्मा दुर्योधनले झेल गर्ने भिमको जाँघ चक्नाचुर पारेको। जिजस र भिष्म कायर, विदुर र द्रोण मुर्ख कपटि।
हामी सँग भएको सबै आदर्शका बिम्बहरु चकनाचुर पारौँ। विनिर्माण गरौँ। नयाँ शालिक खडा गर्ने औकात त छैन हाम्रो, भएका सबै ध्वस्त पारौँ, तीनका एक-एक पाप र अत्याचार कोट्याएर नाङ्गेझार पारौँ। हामी त्यास्ता आदर्श विना मजाले आदर्श जीवन बाँच्न सक्छौँ, जसरी कपाल खौरेर पनि हामी मजाले बाँच्न सक्छौँ।
सबै मिलेर सबै आदर्शको घाँटि निमोठौँ र हत्या गरौँ। माटोले बनेको यो जीवनलाई आदर्शको के खाँचो। कम्तीमा ५० हजार बर्ष पुरानो आदर्श यानी ईश्वरको हत्या त हामीले गरिसक्यौँ। मुल्य महँगो चुकाउन हामी तयारै छौँ। हाम्रा सन्तानलाई आदर्शको कुनै खाँचो पर्ने छैन, जसरी उनीहरुलाई रुखको कुनै खाँचो पर्ने छैन। मंगल ग्रहमा बस्ने आँट छ उनीहरुको। जाबो नाथे अक्सिजन प्रविधीले चुट्किमा बनाइ हाल्छ नि।
खेलमा पनि जित्नेहरू आदर्श बन्ने डर हुने भएकोले आइन्दा खेलमा हार र जीतको व्यवस्था अन्त्य गरौँ। हामी सबै हरुवा। जित्नु त अहंकार हो। झेल नगरी जित्न सम्भवै छैन। फेरी जीत्नेहरुले कुनै न कुनै गल्ती पक्कै गरेका हुन्छन्। त्यस्तालाई आदर्श किन मान्नु। दौड सुरु नै नहोस, भए पनि सबैजाना हारुन्।
कला त आदर्शको जननी हो। कवि, संगितकार, चित्रकार कोहि नहुन अब देखि। कोहि न कोहि उत्कृष्ट सृजना गर्न सफल भैहाल्छ र हाम्रो भविष्यको लागि आदर्श बनीहाल्छ। कक्षामा सबैलाई बराबर अङ्क दिउँ न। कोहि प्रथम भयो भने अर्को शत्रका विद्यार्थी फेरी उसैलाई आदर्श मानलान, अनि उस्ले पनि कहिले कुनै माहा पाप गरेको होला। त्यस्ता हाम्रा सन्ततीका आदर्श कहिले नबनुन्।
ठूला ठूला वैज्ञानिक त झन भयङ्कर अयोग्य छन् हाम्रा आदर्श हुन। एन्टिबायोटिक बनाएर अरबौँको ज्यान बचाउने अलेक्जेन्डर फ्लेमिङ्ले गरेका कति गल्ती होलान्? चार्लस् डार्वीन त नश्लभेदि नै पनि थिए भनिन्छ। अब यीनले पत्ता लगाएको कुनै कुरा मान्न छोडौँ। नभए यीनले गरेको कुरालाई कुनै अन्जान मानिसले गरेको भनेर पाठ्यपुस्तक भरीदिउँ।
कुनै समय डाँकु भएको वालमिकिको रामायण पनि पढ्न लायकको हुन्छ कहिँ? नपढौँ। अत्याचारी वेदव्यासको माहाभारत त पढ्दै नपढौँ। बाइबल किन पढ्नु? यी कृतिहरु त आदर्शका खानी हुन्। चाहिन्न हामीलाई कुनै पनि आदर्श।
हिमालका टाकुराहरु पनि आदर्शका बिम्ब हुन्। सबैलाई थेप्चे बनाइदिउँ। कयौँ पाहाडहरुलाई होच्याएर अग्लो हुने हिमालहरु हाम्रा आदर्श बन्न लाएकका छैनन्। कसैले चढेर आदर्श बन्ने दुस्साहस नगरोस अबदेखि। पापी गुलाव पनि सबै फूलहरुको आदर्श बन्ने आँट गर्दछ सँधै। कयौँलाई आफ्ना तीखा काँढाले चिथोरेर हुर्केको अपराधी गुलाव कसैको आदर्श नबनोस।
हाम्रो आलोचनात्मक चेतको म सँग कुनै जवाफ छैन।