
मरो जीवन दर्शनले गर्दा हो या यथार्थ प्रतिको मेरो भ्रमले हो, थाहा छैन म आफूलाई किन यति पडित सम्झिन्छु बाबजुत यी सारा जीवनले मलाई दिएका सुन्दर उपाहारहरू। बाँसुरी र तबलामा राग पटदिप मध्य लयमा सुन्दै आँशु बगाउने मैले निधो गरेँ। हो बाँसुरी मेरो मनको कथा बुझ्ने एउटा प्रीय वाध्यवादन हो, मलाई बजाउन फिटिक्कै आउँदैन तर म शुसेल्ने प्रयास जरूर गर्छु तिघ्रामा तबला बजाउँदै। सबैजाना सुतिसकेका छन्, मध्यरात भएपनि बाटोको बत्ती दुवै झ्यालका पर्दा छेडेर मेरो कोठा उजिल्याउन जोर जबरजस्ती गर्दै छ। सायद उसलाई लाग्यो होला मेरो अन्धकार जीवनमा केहि प्रकाश दिन उसले सक्छ भनेर। के थाहा उस्लाई सागरको पनि निस्चित गहिराइ भन्दा भित्र प्रकाशको गति मर्छ, प्रकाश प्रभावहिन हुन्छ। मोबाइलमा एकोहोरो पटदिपको धुन आङ् सिरिङ्ग पार्ने गरी बजीरहेको छ, लगातार। बलिन्द्रधारा सुरू भैसकेको छ मेरा बेलैमा सुत्न नसकेका नयनका छेउ छाउबाट। शुसेलीको होस या तिघ्रामा तबलाको, आवाज निकाल्न म सक्दिन सिवाय सुँक्क सुँक्क- “कस्तो रुघा लागेको”। मौनताको बेजोडको पर्खाल कसैगरी भत्किँदैन। वाँसुरीलाई म मेरो प्रीय कृष्ण सँग नजोडि सुन्न त के सम्झिन पनि सक्दिन। कृष्णसँगको मेरो नाता वाँसुरी सँगकै नाता भनीदिए हुन्छ। कृष्ण नै वाँसुरी, वाँसुरी नै कृष्ण मेरो लागि। जुन दिन मैले कृष्ण पाएँ, वाँसुरी पनि पाएँ। वाँसुरी विनाको कृष्ण म कल्पना नै गर्न सक्दिन। बरू सुदर्शन चक्र विना, अर्जुन विना कृष्ण मलाई स्वीकार छ, तर वाँसुरी विनाको कृष्ण मलाई कुनै हालता स्वीकार्य छैन।
एउटा नास्तिकले पटदिपको नशामा कृष्ण सँगको भेटको भिख माग्छ, आजै रातिको लागि, सपनामा नै सहि। यस्तो गिडगिडाहट, यो स्तरको समर्पण एउटा नास्तिकमा कसरी आउन सक्छ? उस्को लागि त कृष्ण हदसे हद भए इतिहाँसको एउटा अपुष्ट पात्र मात्र हो, कविको कल्पना नै नभएपनि। यो भिखको मलाई आज जति कहिलेपनि आवश्यकता परेको थिएन।
—-
भोली यो युगको सायद अन्तिम युद्ध सुरू हुँदैछ, भयानक युद्ध। जुन यद्ध रोक्न म असक्षम भएको छु, त्यो युद्ध दाजुभाइ, बाबु छोरा र गुरू चेला बीचको युद्ध हुनेछ। हुन नपर्ने तर भावीले कुरूवंशको निधारमा लेखिदिएको अकाट्य युद्ध हो यो। रातले पूर्णीमाको संकेत गरिसकेको छ। स्याल र व्वाँसाहरूको हुँइया, चमेराहरूको फटफटाहट, र कागको “का”, “का”। हो, यहि हो आजको रातको संगित। मेरो वाँसुरी इतिहाँसमा आज पहिलो पटक बज्न मानेन। फूक्न खोज्छु फेरी बज्ने मौका नआउला कि भनेर। राधाको नाममा समर्पित गर्न चाहन्छु राग पटदिप, तर वाँसुरीले धुन निकाल्नै सक्दैन।
म पनि मेरै आफन्तीको विपक्षमा विना हतियार, अर्जुन र उसका चार सेता घोडाको सारथीको रूपमा युद्ध मैदानमा उपस्थित हुनेछु। सायद यो मेरो अन्तिम रात पनि हुन सक्छ। भन्न त मलाई कोहि सृष्टिकर्ता भगवान भन्छन्, कोहि महावलशाली अद्भूत पूरूष भन्छन्, कोहि जादुगर मोहनीरूपी भन्छन्। तर मलाई पनि तीरको चोखो धारले घाउ नहुने होइन, गदाको मार मेरो शीरले पनि सहन सक्ने उति नै हो, म पनि आम मानिस झैँ श्वासले नै बाँच्ने हुँ। म पनि भोकाउँछु, वियोगमा म दुःखी हुन्छु, बहिनीको विदाइमा स्नेह र पीडाको मिश्रणले म भावव्हिहल हुन्छु, राधाको प्रेममा पागल हुन्छु। घामले पोल्छ, असुरै भए पनि आफ्नै मामाको वध गर्दा भित्र भित्र मन पस्चातापमा चुर्लुम्म डुब्छ।
हो मैले बालककालमै पुतना, वाकासुर, र कंश जस्ता खुँखार असुरहरूको वध सजिलै गरेँ। तर त्यो, त्यो कुन ठूलो ईश्वरीय क्षमता भयो र? हरेक दिन बगडेले कैयौँ राँगा, बोकाको बध पनि त सजिलै गर्छ नि। दाजुभाई र आफन्तबीच हत्या र हिंशाको सृङ्खला के, के नयाँ हो र? भिमले पनि हिडिम्बा र बकासुरको बध गरेको छ। सय गल्तीको लागि मैले शिशुपाललाई सुदर्शन चक्रले शीर छेदन गरेर यमलोकको बाटो देखाइदिएँ, उ पनि मेरो आफन्तै थियो। मन पीरो त भयो नि मेरो पनि। म पनि त अहंकार र रिस जस्ता मानविय गुँणले भरिएको छु नि! मबाट मात्र किन भिन्न अपेक्षा? होला म विश्णुकै अवतार हुँला, तर मान्छेको शरिरमा भएको हो यो अवतार, मानविय गुँण र सिमा भन्दा पर म कसरी हुन सक्छु?
मलाई कलियुगका नास्तिकहरूले सायद छल युद्धको काल्पनिक महारथी भनेर गाली गर्नेछन्। त्यो गाली टार्न भनेर म यो धर्म युद्ध रोक्ने अधर्म गर्न सक्दिन। मलाई १६०० गोपीनीहरू फकाउने घृणित धोखेबाज, यौन पिपाशु भनेर किताबहरू लेख्लान्। बिचरी सर्त रहित प्रेमकी प्रतिमा राधालाई मुर्ख र शक्ति र भक्तिभावको प्रतिमा मीरा र रुकमिनीलाई पीडित महिला ठान्लान्। मेरो नाममा आफ्ना बालबालिकाको नाम राख्न प्रतिबन्ध लगाउलान्। प्रेमको तीनको गणितिय परीभाषामा मेरो प्रेम नअटाउने कुरा म सजिलै कल्पना गर्न सक्छु। तीनको प्रेमको एक-एक, एक-दुई, वा दुई-दुईको परीभाषामा मेरो चोखो प्रेम परिभाषित हुनै सक्दैन। हो ममा अद्भूत प्रेमको असिमीत क्षमता छ। तर, तर यो के ईश्वरीय गुण भयो र? गान्धारीले आफ्ना सय छोरा र एक छोरीलाई उतिकै प्रेम गर्न सक्छिन्, द्रौपदिले आफ्ना पाँच पतिलाई समान प्रेम गर्न सक्छिन्, आमाहरूले गर्ने असिमित प्रेम सागरमा अटाउँदैन भने के मैले राधा, रुकमिनी, मीरा, ललिता, विशाखा, इन्दुलेखा, सुदेवी, रंगदेवी र माधवीलाई एकैपटक समान तर असिमित प्रेम गर्न सक्दिन र? तीनले मलाई गरेको प्रेमले के तीनका पतिले पाउने प्रेम कम हुन्छ र? के प्रेम एक गाग्री पानी हो र, एक एक गरेर चुहिएर सकिन? ईश्वरले प्रेमको धारा असिमित सृष्टि गरेको कुरा मैले गुरूहरूबाट सिकेको र यो सांसारिक जगतमा भोगेको कुरा के मिथ्या हो र?
हो मैले गोवर्धन पर्वत उचालेर इन्द्रदेवको क्रोधबाट वृन्दावन वासीको रक्षा गरेँ। तर सुईँखुट्ठे भरियाले त्यस्तो वजन त रातोदिन उचालेको छ, हात मुख जोडेर फेरी थप एउटा भवसागर पार लगाउन। वानर हनुमानले पनि त सन्जिवनी पर्वत बोकेर हिमालय देखि लङ्का सम्मको यात्रा रातभरीमा तय गरेकै हो। भक्ति र प्रेममा मानिसले पर्वत त के धर्ती नै उचाले पनि स्वभाविक हुन्छ, प्राकृतिक हुन्छ। माया होइन।
हे कलियुगका आधुनिक मानव हो! मलाई काल्पनिक भनेर बरू सम्झिनु, मलाई कुनै दुःख लाग्ने छैन। के थाहा न म काल्निक नै पो हुँ कि? काल्पनिक ईश्वरलाई के दुःख लाग्नु? वास्तविकतालाई काल्पनिक भनेर पनि के नै फरक पर्छ र? आखिर मानिसले काल्पनिक कुरालाई वास्तविक भनेर युगौँ विताइदिन सकिहाल्छ। जीवन कहाँ सत्यमा मात्र निर्भर छ र? जीवन झूठको पुलिन्दा पनि त हो। कल्पनाहरूको भवसागर नै पो हो कि जीवन? कल्पना र यथार्थ बीचको मधुरो रेखा म भगवान भनाउँदोलाई त थाहा छैन भने जाबो कलियुगका अल्पायु मानवलाई के पत्तो हुनु? तर मलाई ईश्वरको भारी कृपया नबोकाउनु। म वास्तवमै ईश्वर नै हुँदो हुँ त के म जन्मिनु अघि नै आफ्ना माता पिताको बन्दि जीवनको कारण बन्थेँ होला त? के म आफ्नै माता पिताको परिक्षा लिन सक्ने पथ्थर मन भएको ईश्वर हुँ त? जेल भित्र जन्मिन विवश हुने म के ईश्वर र? म ईश्वर हुन्थे भने मामा कंशलाई सदबुद्धि दिन्नथेँ होला त? त्यो आकाशवाणी नै रोकिदिन्थेँ नि। मायाले जेलका फलामे जन्जिर चुँडाल्न सक्ने, सारा सैनिकलाई चीर निन्द्रामा अचेत पार्न सक्नेले, पीता वासुदेवको लागि गंगा तर्न जावो एउटा नाउको सृष्टि गर्न सक्दिनथेँ होला त? म के को ईश्वर? म कस्तो ईश्वर? कैयौँ असुर बध सजिलै गर्न सक्ने। माता यशोधरालाई संपूर्ण ब्रम्हाण्ड मुख भित्रै देखाइदिन सक्नेले आफ्ना जन्मदिने माता देवकि र पीता वासुदेवलाई १५ बर्षको यातनापूर्ण कारावासबाट मुक्त गर्न किन सकिन? कस्तो भगवान म? आफ्नी प्यारी राधा छँदा छँदै रुकमिणीलाई विवाह गर्न बाध्य हुने कस्तो ईश्वर म? कति सयौँ सँग मैले विवाह गरेँ जीवनमा, तर तीनै मनकि मुटु राधाको सिन्दुर रंग्याउन सकिन। यदुवंश विनासको कारक, कुरूवंश विनासको मुकदर्शक, प्रीय वीर युवक भानिज अभिमन्युको जीवन रक्षा गर्न नसक्ने। भिष्म र भिमको अकर्मण्यताले विवस भएर न हो मैले द्रौपदिको चीरहरण रोक्ने कोसिस गरेको! यस्मा के ईश्चरीय गुँण छ र? गान्धारीले आँखामा पट्टि लगाएर देखाएको त्यागको अगाडि मैले मथूराको सिंहासन त्यागेको के नै पो ठूलो कुरा भयो र?

अन्त्यमा आफ्नै वंशको विनासको गान्धारी श्रापलाई निस्तेज पार्न नसक्ने कस्तो ईश्चर म? आफ्ना भाइभारदारलाई भयानक युद्धबाट रोक्न नसक्ने के ईश्वर म? दुर्योधनको मन एक निमेष बदल्न सकेको भए करोडौँ विधवा र अनाथबाट मैले श्रापित हुन पर्थ्यो र? जाबो एउटा शिकारीको, त्यो पनि गोडाको बुढि औँलामा लागेको तीरले वनमा एकलै प्राण त्याग्न विवस म कस्तो कृष्ण, के रहेछ मेरो शक्ति र ईश्वरत्व? गोरोलाई सुन्दरताको मानक मान्ने कलियुगमा म काले कृष्णको यति विवसता मान्छेले बुझिदिए म काल्पनिक नै सहि सन्तोष हुने थिएँ।
——-
विहानको ४ बजेको थियो। आँशुले मेरो तकिया निथ्रुक्क भिजेको। उ कलेजको कार्यक्रममा जान भनेर स्नान गर्न गैसकेकी थिई। मलाई के भैरहेको छ बुझ्न सकिन मैले। मैले के कृष्णको दर्शन पाएँ त साँच्ची नै? होइन म त एकछिनलाई स्वयं कृष्ण नै भएछु कि क्या हो! कृष्ण हुँदा जतिको त मेरो मन कहिले पनि दुखेको थिएन। काल्पनिक नै भएपनि मन यति भारी कहिले भएको थिएन। मेरा जीवनका भारीहरू त गोवर्धन पर्वतका अगाडि वालुवाका दुई कँड जस्ता। मैले संघर्ष गर्न पर्ने पुतना र वकासुर त बँगैचाका कलिला पुतली जस्ता। मैले वध गर्न पर्ने आफन्त त मेरा दिन दिनै उठ्ने रिस, घृणा र ईर्श्या जस्ता कमजोर। मैले पार गर्न पर्ने गंगा त बारीको कुलो। मेरो अपुरो प्रेम कृष्णको बेजोड राधा प्रेमको अगाडि खोक्रो र स्वार्थले भरिभराउ। मान्छेले ईश्वरको सृष्टि किन गरेको रहेछ, बल्ल बुझेँ। आफ्नो, आफ्नो हरेक दुःखको, आफ्नो हरेक क्षमताको, आफ्नो प्रेमको, आफ्नो परिभाषाको, आफ्नो अहंको पाखण्डिपन, पुड्कोपन र खोक्रोपन सम्झाउने अर्को विकल्प सायद मान्छे सँग थिएन र छैन पनि। एउटा अजङ्गको आदर्श, झूठो नै सहि, खडा नगरी, मान्छेले आफ्नो पुड्कोपन सायद मापन नै गर्न सक्दैन।
हो आज चकमन्न छ मन। नदिहरू चुपचाप बगिरहेका छन्। पन्छिहरूको आज उड्ने कुनै चालचुल छैन। कैलो बादलले होला सायद मध्य दिन पनि चुक जस्तो अन्धकार तिर लम्किन हतार गरेको साँझ जस्तो भएकोछ। कारण केवल एकै छ। हो मेरो आज विवाह भएको एक बर्ष भएको छ। मनाउने ले अनेक मनाउने दिन हो आज। तर मेरो लागि यो आफ्नो स्व गुमेको दिन हो। मैले आफ्नि नाटकलाई अझ घनिभूत पार्ने निर्णय गरेको दिन।