को हुन् कम्युनिष्टहरु?

डा. निरज पौड्याल

(यो लेख नयाँ पत्रिकाको बैशाख ११, २०७६ मा प्रकाशित भएको छ।)

संसारमा अब केही मात्र मुलुकहरु छन् जहाँ कम्युनिष्ट पार्टीहरु स्पष्ट देखिने गरी उपस्थित छन्। यी सबै मुलुक प्राय: अफ्रिका, दक्षिण अमेरिका र एसियाका गरिब मुलुकहरु हुन्। कम्युनिष्ट शासित मुलुक विकसित र सफल मानिने मुलुकहरुको सूचिमा आजसम्म अटाउन सकेका छैनन्। कम्युनिष्ट शासकहरुको आततायी नीति र कार्यबाट करोडौं निर्दोषहरुको ज्यान गएको, मानव आत्मसम्मानमा अति नै ठूलो चोट लागेको (जसको दाग मेटिन अझै कैयौँ दशक लाग्नेछ) र व्यक्तिगत स्वतन्त्रताले निकै ठूलो चोट खानुपरेको कुरा अब प्राज्ञिक तहमा यथार्थको रुपमा दर्ता भैसकेको छ। कुनै पनि किसिमको Social Engineering कार्यक्रम कतिसम्म घातक हुन्छ भन्ने कुराको साक्षी बीसौँ शताब्दीको युरोप छ। यसमा धेरै तर्क गर्नु भनेको पृथ्वी गोलो छ कि चेप्टो छ भनेर वादविवाद गर्नु जस्तै हो।

यसका बाबजुद नेपाल जस्तो मुलुकमा किन आफूलाई खुलेर कम्युनिष्ट भन्ने पार्टीहरु सशक्त रुपमा राजनैतिक शक्तिका रुपमा देखा पर्छन त? के बुझेका छौँ त हामीले कम्युनिष्ट भन्नाले? मतदाताहरुले के बुझ्छन् त कम्युनिष्ट भन्नाले? यो लेखमा यसै विषयमा केही विवेचना गर्ने कोसिस गरिएको छ।

को हुन कम्युनिष्टहरु?

परिभाषा १: जसले आफुलाई कम्युनिष्ट भनेर चिनाउछ।

यो परिभाषा अनुसार, जसले आफुलाई कम्युनिष्ट भन्छ ती सबै कम्युनिष्ट हुन, जसरी आफूलाई हिन्दु भनेर चिनाउनेहरु सबै हिन्दु हुन र आफूलाई पुरुष भनेर चिनाउनेहरु सबै पुरुष हुन्। नेपालका कम्युनिष्ट पार्टीहरु यस परिभाषा अनुसार कम्युनिष्ट हुन। तिनीहरुका कार्यकर्ता सबै कम्युनिष्ट हुन्। आफू कम्युनिष्ट भएकाले तिनलाई भोट हालेँ भन्नेहरु पनि सबै कम्युनिष्ट हुन्।

तर यो परिभाषाका आफ्नै कमजोरीहरु छन्। के एउटा नेपालीले म पाकिस्तानी हुँ भन्दैमा ऊ पाकिस्तानी हुन्छ? अनि कसैले आफूलाई पुरुष भनेर चिनाएपछि चिकित्सकले पुरुष सरह व्यवहार गरेर उपचार गर्न मिल्छ त? कदापि सकिँदैन। त्यसैले यस परिभाषालाई अलि परिस्कृत गर्ने हो भने कम्युनिष्ट पार्टीको सदस्यता लिएकाहरुलाई कम्युनिष्ट भन्न सकिन्छ। तदनुसार कम्युनिष्ट पार्टीका सबै सदस्यहरु कम्युनिष्ट हुन् भन्न सकिन्छ। कुनै पनि सदस्यता नलिनेहरुलाई स्वतन्त्र भन्न सकिन्छ। हुन त अझै पनि यो परिभाषा पूर्ण छैन, जसरी सवारी चालक प्रमाण पत्र छ भन्दैमा कसैलाई सवारी चलाक नै हो भन्न सकिंदैन।

परिभाषा २:जसले कम्युनिष्ट सिद्धान्तलाई आदर्श मान्दछ।

के हो त कम्युनिष्ट सिद्धान्त, अर्थात कम्युनिजम? कम्युनिजमका न्यूनतम मान्यताहरु यसका सिद्धान्तकारहरुद्वारा रचित रचनाहरुमा पाउन सकिन्छ। छोटकरीमा ती यसप्रकार छन्:

 १)   मानव समाज २ वर्गमा विभाजित छ। यी २ वर्गका बीच द्वन्द्व हुन्छ किनकि मुनाफाको लागि एउटा वर्गले अर्को वर्गको शोषण गरिरहेको हुन्छ जसले गर्दा असमानता व्याप्त हुन्छ।

२)    यसको अन्तिम समाधान भनेको नीजि सम्पत्तिको र उत्पादनका साधन (जस्तै: जमीन, पूँजी, श्रम) को अन्त्य हो। अर्थात् नीजि सम्पत्तिको र उत्पादनका साधनको स्वामित्व सामूहिक गराउनु हो।

३)    हिंसात्मक क्रान्तिपछि मात्र यो समाधान लागु गर्न सकिन्छ। शोषकहरुको शासनको अन्त्यपछि मात्र समाज पूर्ण रुपमा समान र समृद्ध हुन्छ। यो व्यवस्थाको नाम कम्युनिजम रहने छ। यहाँ समाजका हरेक महत्वपूर्ण कुरामा शोषित वर्गको पार्टीको पूर्ण एकाधिकार हुनेछ। यो समाजमा पूर्न तया विभेद रहित हुनेछ।

४)    व्यक्तिको उत्पादन, उपभोग, वितरण, व्यापार आदि कुरामा निर्णय गर्ने क्षमता राज्यको (कम्युनिष्ट पार्टी) भन्दा कम हुने हुनाले, सबै महत्वपूर्ण निर्णयहरु राज्यले नै गर्नुपर्दछ।

५)    ईश्वरको अस्तित्व छैन।

यस परिभाषा अन्तर्गत पनि धेरै नेपाली राजनैतिक दलहरु पर्न सक्दछन्। उनीहरुको दस्तावेज, कार्यक्रम र व्यवहारले यो कुरा पुष्टि गर्दछ।

तर के यो परिभाषा बुझेपछि पनि नेपालीहरु आफूलाई कम्युनिष्ट भन्न रुचाउलान् त? के नेपालीहरु सधैँ द्वन्द्वमा रहेका छन् त? के नेपाली समाज सँधै २ वर्गमा विभक्त छ त? के नेपाली समाजको इतिहाँस मुख्य रुपमा यी २ समुह बीचको द्वन्द्व ले व्याख्या गर्न सकिन्छ त? के पूरै समानता सम्भव छ? के नेपालीले कल्पना गरेको समाज हरेक हिसाबले समानता युक्त हो त? के नेपालीहरुले आफ्नो नीजि सम्पत्ति त्याग्लान् त? के नेपालीहरुले ईश्वरमाथिको आस्था छोडिसके? सजिलै भन्न सकिन्छ, यस्तो विचारसँग सहमत नेपालीको संख्या अत्यन्त कम छ। यो हिसाबले नेपालमा कम्युनिष्ट बहुमत हुनै सक्दैन।

परिभाषा ३:जसले कम्युनिष्टको जस्तो व्यवहार गर्दछ।

यो परिभाषा अनुसार नेपालमा सबैभन्दा कम कम्युनिष्टहरु छन्। संसारका चर्चित कम्युनिष्ट शासकहरुले गर्ने व्यवहार हेर्ने हो भने स्टालिन, माओ, पोलपोट, क्यास्ट्रो आदिका व्यवहार हेर्नुपर्ने हुन्छ। संयोग नै मान्नु पर्छ कि नेपालमा त्यस्ता सच्चा कम्युनिष्टहरु छैनन्। हुन त यिनीहरु सच्चा कम्युनिष्ट होइनन् भन्ने जमात पनि ठूलै छ, जसरी ठूला पूँजीवादी देशहरुलाई सच्चा पूँजीवादी होइनन् भनिन्छ र जसरी अधिकाशं हिन्दुहरुलाई सच्चा हिन्दु होइनन् भनिन्छ। तर कम्युनिष्ट शासकका प्रतिनिधि पात्र यिनैलाई मान्नुको विकल्प हामीलाई इतिहाँसले दिएको छैन। करोडौँको ज्यान जाने गरी, अरबौँको मानव समवेदनामा गम्भीर चोट लाग्ने गरी र त्यतिकै सङ्ख्यामा व्यक्तिको स्वतन्त्रतामा गहिरो आघात हुने गरी गरिएको शासन नेपालीले भोग्नु परेन। यस्तो शासन नेपालीले स्वीकार नगर्लान्, त्यसैमा सबैको हित होला।

परिभाषा ४:नेपाली समाजमा स्थापित परिभाषा अनुसार

नेपालमा कम्युनिष्टहरुलाई समाजवादी विचार बोक्नेहरुका रुपमा पनि चिनिन्छ। समाजवाद वा कम्युनिष्ट भन्नासाथ नेपालमा समाजलाई वा कम्युनिटिलाई (समुदाय) प्राथमिकतामा राख्ने कुरा बुझिँदै आएको छ। सामाजिक हुनुलाई नै समाजवादी हुनु पनि बुझिएको छ। भोटको राजनीतिमा त यस्तो किसिमको बुझाइ अति नै काम लाग्ने औजार बनेको छ नेपाल जस्तो विकासोन्मुख मुलुकमा। पूँजीवादी समाजमा समाज नै हुन्न र? सामाजिक कार्य नै हुन्न र? सामाजिक हितको लागि व्यक्तिले सबैभन्दा बढी त्याग पूँजीवादी देशहरुमै गरेको कुरा जगजाहेर नै छ। सबैभन्दा धेरै वातावरणवादीहरु, परोपकारमा सम्पति खर्च गर्नेहरु, औषधि-उपचारको अनुसन्धान गर्नेहरु यिनै पूँजीवादी देशहरुमा नै छन्।

अझ नेपालमा त भारत र अमेरिकाको परराष्ट्र नीतिको विरोध गर्नेहरुलाई पनि कम्युनिष्ट भनेर चिनिन्छ। अचम्मै मान्नु पर्दछ कि तिनै राष्ट्रहरुको आन्तरिक आर्थिक र सामाजिक (जुन मुख्य रुपमा पूँजीवादी चरित्रका छन्)) विकासको मुक्त कण्ठले प्रशंसा गर्नभने हामी कोहि पनि हत्त-पत्त पछि पर्दैनौँ। मौका पाउनासाथ यिनै मुलुकहरुमा लाभदायक रोजगारको लागि जान आतुर नेपालीको संख्या पनि उल्लेख्य छ।

समाजमा बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु, वृद्ध-वृद्धा आदिहरुलाई राज्यको दायित्वभित्र ल्याइनु पर्दछ र यसको लागि करको दर उच्च हुनु पर्दछ भन्नेहरु पनि कम्युनिष्ट भनेर चिनिन्छन्। तर यस्तो कल्याणकारी राज्यहरु प्राय: सबै पूँजीवादी र बजार अर्थतन्त्रबाट संचालित छन न कि कम्युनिजमबाट। कल्याणकारी राज्यको केही न केही रुप राज्यको उत्पत्ति भएदेखि नै देखा परेको प्रमाण पाउन त्यति गाह्रो नहोला। धार्मीक राज्यहरुमा पनि कल्याणकारी नीतिको अंश पइन्छ। धेरैले प्रजातान्त्रिक समाजवादी भनेर चिन्ने मुलुक डेनमार्कका प्रधानमन्त्रीले नै हालसालै आफ्नो मुलुक समाजवादी नभई, बजार अर्थतन्त्र अन्तर्गतको कल्याणकारी राज्य हो भनेर स्पष्टोक्ति दिएको स्मरण गर्नु उपयुक्त देखिन्छ यहाँ। हेरिटेज फाउन्डेशनले हरेक वर्ष जारी गर्ने आर्थिक स्वतन्त्रता सुचकांक (Economic Freedom Index) मा यस्ता मुलुकहरु अमेरिका भन्दा पनि अगाडि रहनुले यी देशहरुमा पूँजीवाद कति शशक्त रुपमा उपस्थित छ भन्न सकिन्छ। समाजवादीको विल्ला लागेपछि लगानीको वातावरणमा कतिसम्म नकारात्मक असर पर्छ अनुसन्धानको विषय रहेको नै छ।

स्वास्थ्य र शिक्षालाई राज्यको दायित्वभित्र राख्नुपर्छ भन्नेहरुलाई पनि कम्युनिष्ट भनेर चिनिन्छ नेपालमा। तर, यो पनि एक्काईसौँ शताव्दिमा पूँजीवादी मुलुकहरुकै चरित्र बनेको छ। ती मुलुकहरुमा केवल चर्को कर प्रणालीद्वारा एकल द्वारबाट स्वास्थ्य र शिक्षाको खर्च बेहोरिने हो। स्वास्थ्य र शिक्षण संस्थाहरुलाई नै राज्यका कर्मचारीहरुले चलाउने पूँजीवादी मुलुकहरु बिरलै भेटिएलान्। चलाउने नीजि क्षेत्रले नै हो। मात्र बीलको भर्पाइ राज्यको एकल पक्षबाट हुने हो।

पूँजीवाद परिवर्तनिय, प्राकृतिक छ, साना-साना प्रयोगमा आधारित छ र सहनशिल छ र नै सँधै पूँजीवादको रुपमा रहन सफल छ। कम्युनिज्म जड छ, प्रकृतिको विपरित छ, आस्थामा आधारित छ, असहिश्णु छ र नै इतिहाँसमा टोलेमीको (Ptolemy) सौर्यमण्लको सिद्धान्त (प्रतिमान) जस्तै एउटा गलत प्रमाणित सिद्धान्तको रुमपा पुस्तकहरुमा मात्र सीमित छ। हुन त पूँजीवादको परिभाषा पनि आगामी लेखहरुमा गर्दै गरौँला।

अन्त्यमा

यहाँ उल्लेखित परिभाषाहरु पूर्ण छैनन्। पाठकहरुले अन्य परिभाषा पनि थप्न सक्नुहुन्छ। अब को कम्युनिष्ट हुन् वा होइनन् भन्ने कुराको टुङ्गो परिभाषाको छनोटपछि मात्र गर्नुपर्नेछ। राक्षस कुलकै भए पनि विभिषण पूज्य नै छन् इतिहाँसमा। तैपनि कुनै विचारको विवेचना र मूल्याङ्कन गर्दा सो विचारको नाममा हुने गतिविधि अनि उक्त नामको प्रयोग कसरी हुन्छ भन्ने कुरालाई कदापि नजर अन्दाज गरिनु हुन्न। आफू स्वयंलाई सो विचारले परिभाषित र घोषित गर्नेलाई सो विचारको संवाहक नमाने कसलाई मान्ने भन्ने समस्या सत्यको निरूपण कसरी हुन्छ भन्ने अनुसन्धान पद्धतिको प्रमुख समस्या हुँदै हो। अमेरिकालाई सच्चा पूँजीवादी नभनेर कसरी तार्किक वहस अगाडि बढाउने भन्न गाह्रो छ। कम्युनिजमको ‘बाइबल’ भए जस्तो पूँजीवादको ‘बाइबल’ नभएर यो समस्या झन् जटिल हुने नै भयो। निष्कर्षमा भन्नु पर्दा पहिले पाठक स्वयंले नै कम्युनिष्टको परिभाषा रोजेर ठम्याउनु पर्दछ कि आफू स्वयं वा उसको समाज कम्युनिष्ट हो वा होइन।

https://www.nayapatrikadaily.com/news-details/12921/2019-05-02