विम्बहरुको विनिर्माण

इतिहासले अचम्मै संग सायद अन्तिम पटक हाम्रो राष्ट्रको वा भनौ समाजको यस्तो विद्रूप स्थितिको कारण बुझ्ने मौका दिदै छ। भएको उर्जा किन सबै नमिठो “राप र ताप” मा खर्च हुँदैछ होला? निधार उज्यालो पार्न सक्ने प्रकाश रत्तीभर निस्केन सो उर्जाबाट, आजसम्म पनि।
आम्दानी बढेकै छ, उमेर र स्वास्थ्य स्थिति निकै तीव्र गतिमा सुधारोन्मुख नै छ। विकास अवसम्भावी नै देखिन्छ। तर पनि किन यस्तो थिल्थिलो हँ यो रास्ट्र? किन मलिन हाम्रा अनुहारहरू?

किनकी यहाँ विम्बहरूको बेजोडले हत्या हुँने गरेको रैछ। तिनीहरुको विनिर्माणको गति अत्यन्त तीव्र पारिँदै रहेछ। भौतककशास्त्रिय द्रिष्टिकोणबाट, बिम्बको कुनै अर्थ र महत्व छैन सायद। सबै बिम्बहरू यो संसारबाट विलुप्त नै भए पनि के नै फरक पर्ला र यो जगतलाई? कैयौँ बिम्बहरू सत्ताको बलल हठात मारिए त कयौँ समयको चाल संगै आफैँ धुलो-धुलो भै मेटिए। जगत त कायमै छ। हामीले सास फेरेकै छौँ, आफ्नो भोग भोगेकै छौँ।

के रैछ त बिम्ब?

जाबो नाथे एउटा टोपी जसमा कयौँको शिर ठाडो पार्ने तगत पनि थियो, ९ हातको सेतो धोती जसले हामीलाई हजारौ बर्ष सम्म एक शुत्रमा बाँध्ने कोसिस गरिरह्यो, रगतमा मुछिएर बनेको एउटा झण्डाको आकार र रगंहरु जसका मुनी लाखौँ योद्धाहरूले ज्यानको बाजी लगाउने कसम खाए, बुद्धको एउटा प्रतिमा जस्लाई देखेर करोडौँ मान्छे शान्तिले नतमस्तक भए, एउटा पौराणिक पुस्तक जसका पानाहरु पढेर हामी हुर्कियौँ र एउटा जीवनको, खराबै सहि, मापदण्ड बनायौँ, एउटा खोस्टो संबिधानको प्रतिलिपी जुन लेख्ने सपना देख्दा देख्दै कयौँ बलिदानी भयो, शान्ति सम्झौताको एउटा दस्तावेज।

एउटा राष्ट्रिय गाना जसको धुन सुनेर सबैको छाती ढक्क फुल्ने गर्छ, एउटा गुलावको फुल जसले शँधै प्रेम सन्देशहरु प्रेमीहरूमाझ पुर्यायो, त्यो शिखा र त्यान्द्रे जनइ जसले कयौँलाई जीवनका लक्षहरु देखायो र इन्द्रियहरुको सिमा बतायो।

दशैँको रातो टिका, दन्त्य कथाहरू, मिथकहरू, एउटा जाबो सरकारी लोगो, क्रूर इतिहाँस बोकेर उभिएको एउटा दरवार, चोकको पुरानो पाटी र पौवा, खेतका बीचमा छोडिएका नाग देउताका ढिस्काहरु, त्यो बाटो छेवैको पानी कुवा, सिमाना अंकित देशको एउटा नक्सा, हिमालका नामहरू, रजमार्गका नामहरू, मेरी आमाले पुजा गर्ने ईश्वरहरु।

खाए पनि, च्याते पनि, ट्वाइलेटमा फ्लस गरे पनि, खनेर पुरे पनि, अंग्रेजीमा उल्था गरेर पुरानो माथि नयाँ बिम्ब रोपे पनि, जुत्ता बनाएर लाए पनि, केक बनाएर काटे पनि। के नै भो र? बिम्बले प्रतिबिम्ब गर्न खोजेको मुल कुरा नमरे सम्म बिम्ब मरेर के नै हुन्छ र? नेपाल रहे सम्म यस्को नक्सा जति च्याते पनि, कोरे पनि, जलाए पनि मिसाए पनि, काचाक कुचुक पारेर डस्टविनमा फाले पनि के नै भो र? किन बेकारको हल्ला? अचम्म सितले नदिनालाको कुरामा चाहिँ फेरी केवल बिम्ब मात्र बाँकी छ अब।

तर अनौठो कुरा चाहिँ के छ भने बिम्ब हत्याराहरुलाई पनि बिम्ब बिना बाँच्न असम्भव लाग्ने रहेछ। पुराना बिम्बहरुको हत्या गर्ने योजना नबन्दै आफ्ना नयाँ बिम्बहरुको निर्माण सुरु गरिहाल्छन। नक्सा, झण्डा, ईश्वर, टोपी, धुन र गाना सबै ठिक्क पार्ने रहेछन्। नभइ नहुने रहेछ। भलै ति बिम्बहरु जीवनको रस बन्न र रगतका नशा-नशामा बग्न अर्को सय वा हजार वा दश हजार वर्ष जति लाग्न सक्ने हेक्का हुन्न उनीहरुलाई। जब हेक्का हुन्छ, ढिला भैसकेको हुन्छ। समाज प्राणहिन, रस विहिन, प्रकाश विहिन, दिशा विहिन भैसकेको हुन्छ। अनि गर्न थाल्छन विलाप हत्याको पस्चातापमा। अनि लाग्न थाल्छ यस्ता बिम्बहरूको हत्याराहरू १२ हजार मान्छेको हत्या गर्ने राजनैतिक आन्दोलनहरु र एक निमेषमा १० हजारको हत्या गर्ने भुकम्पहरु भन्दा भयानक छन्।

हुन्छ बिम्बहरू नामेट हुन्। हाम्रा पानी जहाजहरूमा झण्डा नकोरमला, देशको नाम नि नलेखम्ला, राष्ट्रिय धुन नबजाउँला, पुस्तकालयबाट अन्धविश्वासले भरिएका किताबहरू हटाइदिउँला र आनि जलाइदिउँला। नक्साका केकहरु काटेर खाउँला। ईश्वरका प्रतिमुर्तीहरु भैँमा बजारेर टुक्रा-टुक्रा पारौँला। नाग देउताहरु भागाभाग गरिसके हाम्रा प्लटिङ्गहरु देखेर। अब टोपी पनि नयाँ नायाँ लगाउँला, हरेक दिन नयाँ राष्ट्रिय गाना गाउँला, नयाँ नयाँ झण्डा फरफराउँला। अब गुलाव हैन, सुर्यमुखि फुलले प्रेम साटासाट गरौँला। दशैँमा अब निधारमा टिका हैन गालामा केक को क्रिम दलौँला।

अनि रमाउला बिम्ब लोप भएको त्यो राष्ट्रमा। सुखी र सम्बृद्ध देशमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *