एकादेशमा एक हुल मान्छेहरु बस चढेर कुनै निकै-निकै दुरको गन्तव्य तिर गैरहेका रहेछन्। बसले करिब २ हजार कोसको दुरी पार गरे पछि बाटोमा एउटा खोला आयो। पुल थिएन, हुने कुरै भएन किनकी मान्छे त्याहाँ पुगेको पहिलो पटक हो। बस हिलोमा फस्यो। खोलामा पानी बढ्न थाल्यो।
नचिनेको खोलामा बस ठेल्दा कोहि घाइते पनि भए, एक जानाको ज्यानै गयो।
चालक, मेकानिक र सहचालक सबै कोसिस गरेको गरेकै छन् बसलाई त्यहाँबाट निकालेर यात्रा जारी राख्न। ठेगान त छैन के हुन्छ। बाढि बढेर बसै बगाउन पनि सक्छ। तर प्रयास जारी छ। सबैलाई बसबाट ओर्लीएर अली सुरक्षित स्थानमा बस्न आग्रह हुन्छ। बसलाई सराप्दै सबैजसो ओर्लीन्छन्। आफ्नो सिटको मोहमा सबैजाना फसिसकेका हुन्छन्। एक दुईजाना कुनैहालतमा सिट नछोड्ने भन्दै बसमै बसीरहन्छन्। बस ठेल्न अलि गाह्रो होला कि भन्ने हेक्का भए पनि।
अब यात्रीहरु के गरुन्। गफ गर्न थाल्छन। बदाम छोडाउँदै। चौरमा वसेर।
कोहि भन्छ, “यस्तो जाबो बस के काम? अब प्लेन चढ्न पर्छ। बाढिले नि नछुने। छिटो नि पुगिने। आकाश पनि छुन पाइने।”
यो भन्नेहरु अधिकाशंले प्लेनको नाम मात्र भर्खर-भर्खर सुनेका हुनछन्। एक जानाले चाहिँ प्लेन चढेको छु भनेकै हो बस खोलामा फस्नु भन्दा अघि नै।
अर्को भन्छ, “अब डिजेल किन्न नपर्नी भयो। बचत नै बचत। त्यो बचतले बयल गाडा किनेर यात्रामा अघि बढ्न पर्छ। यो बस धेरै आधुनिक भयो। हाम्रो हिँड्ने बानी पनि बिगार्यो यसले।”
विस्तारै हिँड्ने भए पनि भर पर्दो त वयल गाडा नै हो रे। आफ्नै माटो सुहाउँदो। वातावरण त अब पो सफा हुने भयो भन्दै प्लास्टिकका बोतल यत्र तत्र फाल्छन् यात्रुहरु। अनि प्लास्टिकका तिनै बोतल बालेर आगो पनि ताप्छन्।
“हैन। यात्रा भन्ने कुरै बेकारको रहेछ। यस्तो जंगलको बीचमा फसियो। बाघले खायो भने के गर्नु। बेकार बस चढिएछ।“
चालक, मेकानिक र सहचालक मिलेर बसको पाङ्ग्रामा चेनको साहायताले बस अब फेरी नफस्ने गरी कसरी बनाउने भन्ने छलफलमा व्यस्त छन्। हात-खुट्टा रोकिएको भने होइन।
“उ पानी घट्यो घट्यो घट्यो।“
“ल ल बढ्यो बढ्यो बढ्यो।”
“ल खत्तम। बरबाद”
“ठिक्क पर्यो त्यो बसलाई, बसका चालकलाई। बल्ल चेत्यो त्यसले।”
ड्राइभरको बस चलाउने सिमित क्षमताको बारेमा, बसको टर्कको सिमितता बारेमा, टायर भन्दा खुट्टै ठिक भन्ने कुरामा, मेकानिकको ज्ञानको यस्तो संकटमा केहि काम नभएको जस्ता विषयमा गम्भिर छलफल हुन्छ। केवल छलफल।
खोलामा पानी बिस्तारै घट्यो, घट्नु नै थियो। कुन बाढि पो अजम्बरी छ र? चालकले बसलाई खोला पारी पुर्याए। बसमा मर्मतको काम गरे। कुनै कुनै यात्री अगाडि देखि नै सहयोग गरिनै रहेका थिए।
चौरमा बसीरहेका अरु सबैजाना आ-आफ्ना लुगा टक्टकाउन लागे। प्लेन उनीहरुलाई लिन आएन। हिँडेर जान पर्छ भन्ने हरु सबैभन्दा पहिला बस चढे। पर वयल गाडामा चढिरहेका मान्छेहरुको तस्वीर पनि खिचे मोबाइलमा। सम्झना हुन्छ रे। बस्दा बस्दा खुट्टै दु:खेको कुरा गर्दै थिए उनीहरु।
बस जतिको बेकारको कुरो केहि छैन भन्दै यात्रा जारी राखे सबैले। दु:खको र हरेक समस्याको मुख्य श्रोत नै बस, चालक, मेकानिक र सहचालक आदि भएको निष्कर्ष निकाले। पेट दु:खेको, टउको दु:खेको, बाढि आएको, बुढ्यौलीले छोएको, पानी धेरै परेको, नपरेको, गर्मी भएको सबैको दोष बस र बसका चालक, सह-चालक र मेकानिकले पाए।
कोहि कोहि त अब यो बस जलाउन पर्छ र अर्को बस बनाउँन पर्छ भन्दै थिए। एउटाले त बसको बत्तीको सिसा पनि फुटायो र टायरको हावा पनि फुस्कायो। धन्न मेकानिकले एउटा अर्को जगेडा राखेको रहेछ। टायर बालेर आगो तापौँ भन्दै थियो। धन्न बाढि रोकियो र आफ्नो सिटको चिन्ताले टायर बाल्न भ्याएन।
बस यी सबै कुरा सुन्दा सुन्दै पनि आफ्नो धर्म निभाउन कटिबद्ध थियो।