यो कविता पुरै कविको कल्पनामा आधारित छ । कसैको आफ्नो जीवनी सगं मिल्न गएमा संयोग मात्र हुनेछ ।
काठमाण्डौँका सडकमा मात्र होइन मन मनमा धुलो उड्छ त्यहाँ
चोक चोकमा मात्र होइन मस्तिस्का नसा नसामा फोहोर थुपारिन्छन त्यहाँ
धुलोहरु सजिलै उडाइन्छन, फोहोर सजिलै थुपारिन्छन
किनकि त्यहाँ एउटा बुल्डोजर छ
नदिहरु मात्र किन दुवै हत्केला नै प्रदुषित पारिन्छन त्यहाँ
पुजा हुन्छ यान्त्रिकताको त्यहाँ, ध्वस्तै पारिन्छ कलालाई त्यहाँ
पुजा गर्न सजिलो छ, ध्वस्त पार्न पनि सजिलो छ
किनकि त्यहाँ एउटा बुल्डोजर छ
काठका पुतली मात्र किन जिउँदा प्रेमीहरुलाई झुण्ड्याइन्छन त्यहाँ
रातमा मात्र किन दिनमै बलात्कार गरिन्छ अस्मिताहरुको त्यहाँ
झुण्ड्याउन सजिलो छ, बलात्कार गर्न सजिलो छ
किनकि त्यहाँ एउटा बुल्डोजर छ
सुकेका झारहरु मात्र किन कर्मवीरहरु नउम्रिदै निमोठिन्छन त्यहाँ
फलामका गाडीहरु टलक्कै पारिन्छन, सिसाका सिसाकलमहरु ताछेरै सकिन्छन त्यहाँ
निमोठ्न सजिलो छ, ताछ्न सजिलो छ
किनकि त्यहाँ एउटा बुल्डोजर छ
कालोपटीहरुलाई खुट्ट भाँचेर थुनिन्छ, सेतोपाटीहरुलाई एकाएक भित्तामा झुण्ड्याइनछन त्यहाँ
टकटक गर्ने सेता चकहरुलाई विलुप्त गराइन्छन, लाटा कलमहरुको साशन छ त्यहाँ
भाँचेर थुन्न सजिलो छ, साशन गर्न सजिलो छ
किनकि त्यहाँ एउटा बुल्डोजर छ
चढ्न प्रयोग हुने भर्याङहरु नै चढेपछि आगो ताप्न छिया छिया पारेर चिरिन्छन त्यहाँ
भन्नेलाई प्लास्टिकको माला सुन्नेलाई भने सुनकै माला, फूलहरु कुल्चिन मात्र टिपिन्छन त्यहाँ
छिया छिया पार्न सजिलो छ, फूलहरु कुल्चिन सजिलो छ
किनकि त्यहाँ एउटा बुल्डोजर छ