वनारसको टिकट नकाटी रहन सकिन। फर्केर आउने निस्चित नै भएपनि टिकट चाहीँ एकोहोरो मात्र काटेँ, पैसा नपुगेर होइन। सँधैको आलस्य नि छैन। यात्राको अदृस्य त्रास पनि केही छैन। ब्ल्याकहोलको प्रत्यक्ष गुरूवात्तकर्षणले झैँ निरन्तर तानेको त वर्ष दिन भयो होला तर आज चाहिँ इभेन्ट होराइजन पार हुने दिन। कत्थक र सेहनाइको आवाजले आक्रमण गर्लाकी भनेर आफूलाई सामान प्याक गर्ने बाहानामा यता उता व्यस्त राख्छु। एयरपोर्ट टाइम १२। इन्डिएन एरलाइन्स।
के लुगा लगाउँ। आफूलाई त्यही संगीतमय ओसिलो गल्लीमा नउभ्याइ कुनै निर्णय नै गर्न सक्दिन। साँच्ची मैले त्यो अन्तिम दिन के लुगा लगाएँ हँ? हातमा गणितको एउटा मोटो पुस्तक बोकेको त प्रष्टै याद छ। अँ हो त, कुर्ता सलवालमा अभ्यस्त भएको पनि निकै भैसकेको थियो। खैरो रँगको। डेरामा पुगेर मात्रै स्टेसन जाने भएकोले होला चप्पलमै विदा भएको थियँ। घडिको सोख त्यो दिन पनि पुरा गरेकै थियँ। कुर्ता चाहीँ हैन, घडी र चप्पल चाहिँ आज पनि मेरा प्रीय पहिरन हुन र म त्यही लगाउँछु।
“कन्फरेन्स अनि पाइन्टमा चप्पल! छ्या छ्या!!”
“…”
म, पाइन्ट, चप्पल, घडी, आकासे हाफ सर्ट र त्यही थोत्रो व्यकप्याक। ल्यापटप यो पटक आवश्यक नै थिएन।
कपाल काट्न छोडेको छ महिना भयो। अनुहार त अब शेभ गर्छु। ९ बजीसक्यो।
काठमाण्डौँमा पानीले जताततै हिलो र ताल भएपनि आज वनारसमा मजाले घाम लाग्ने कुरा वेदर डट कममा हिजै हेरेँ। छाता लिन हतार नि गरिन। हुन त त्यो चिसो गल्लीमा घाम लाग्नु र नलाग्नुको कुनै अर्थ छैन, तैपनि पानी नै पर्दा चाहीँ म हाँसोको पात्र पनि भएको छु ।
आफ्नो सिटमा फर्किन सबैलाई आग्रह हुन्छ। सिटबेल्ट बाँध्नी उर्दि पनि जारी हुन्छ। जहाज १०,००० फिटको उचाइ भन्दा तल ओर्लिएको जानकारी पनि मिल्छ । दायाँबाट बायाँ जहाजले यसरी फन्को लगाउँछ कि मानौँ जीवनको धरातल पुरै उल्टिएको छ। सबैजाना आ-आफ्नो जीवनकोलागि प्रार्थना गर्न थाल्छन। म जस्तो नास्तिकको पाषाण मन पनि कास मेरो पनि ईश्वर हुन्थ्यो त म पनि यो नस्वर जन्म अन्तिम होस भनेर प्रार्थना गर्थेँ होला भन्छ। हुन त धर्तिकै जीवनमा यो भन्दा भयङ्कर मोडहरु पार गर्दा पनि आज यो उल्टो यात्रा गर्न म जीवितै छु भन्ने हेक्का नभएको होइन। पसिनाले सबै चिटचिट भैसकेका छन। जीवनको सहि मुल्य बल्ल बुझ्न लागेकोमा भएको ग्लानी ८० नाघिसकेका जस्ता देखिने आफूलाई युवाक नै भन्न रुचाउने म सँगै बस्ने तिर्थ यात्रीको मुहारमा प्रस्ट देखिन्थ्यो। जब जहाज सोझो भयो, सबैले मृत्यु जितेको भ्रममा परी एक आपसमा अदृष्य बधाई साटासाट गरे। मानौँ अब, मृत्यु आफैं मरेको हो।
१.३० बज्यो, म वनारसको एयरपोर्ट बाहिर। घामको तेज किरणको आक्रमणबाट आँखा बचाउन मेरा अरबौँ वर्ष पुराना जीनहरुले आँखा खुम्च्याउन परमादेश जारी गरिसकेका छन। एक टकले भाईबरको सिग्नल खोज्दै मोबाइल तलमाथि गर्दै एताउता भौँतारिरहेँ। मानौँ पानी माथि निस्कन नसकेर निसासिँदै सास फेर्न म छट्पटाइरहेको छु। बल्ल तल्ल दुई लाईन देखियो, म खुसी भएँ। मानौँ मैले मरभुमीमा आधी बित्ताको छायाँ भेटाएँ।
“हेलो,…. हेलो,…म पुगेँ है! गर्मी छैन धेरै। आई मीस यु ए लट!!”
“ए हस। होटेलमा त वाइफाइ होलानी? पुगेर कल गर्नु है?”
“हस। ल त बाई।”
आफु चाँडै फर्किने कुराको यो पटक वाचा गरिन। भिमपलासीको तरगंले सरिर पुरै पग्लीरहेको छ। किन हो कुन्नी अरु सबै नपग्लिकनै यात्रा जारी राख्छन। ट्याकसीमा सदर बजार पुग्न आधा घटां लाग्छ रे। भिमपलासीको तरगं मानौं पल्लो घर बाट आइरहेछ। के अब उन्ले भिमपलासी सबैतिर गाउन थालिन त? कि नव-प्रविधिको प्रयोगले उनी पनि ख्यातीको शिखरमा पुगी सकिन? कि भिमपलासीलाई म आउने खबरले वनारसको प्रदुषित हावाले उनको चिसो आँगनबाट एरपोर्टसम्म पुर्यायो? खै?
ट्याक्सी ड्राईभरको अर्थशास्त्रको ज्ञानको अगाडि म एउटा पेशेवर अर्थशास्त्री यतिविधि नतमस्तक हुन पर्ला भनेर जानेको भए, मेरो इतिहाँसमा ब्लयाक्सबर्गको हिँउ कहिले पर्न दिन्नथेँ होला। क्रुर तर स्वस्च्छन्दवादी पूँजीवादले जब देखी भद्दा समाजवादलाई सरकारी कार्यालयहरुका बन्द दराजहरुमा सीमित गर्दियो, पूँजीवादले आफ्नो एकल नृत्य सडक अनि गल्लीहरुमा निर्वाध देखाइरहेको कुरा ड्राइभरले मलाई आजको दिनमा आएर भन्यो। अब पान पसलहरु, औषधि पसलहरु, संगित विद्धयालयहरु, प्रेम पत्रहरु, संवन्धहरु सबै वनारसको बजारको छायाँमा मजाले फल्न र फुल्न सिकिसकेका छन रे, उसैले भनेको। म लज्जित भयँ आफ्नो अज्ञानताको असीमीतता संझेर। मेरो संवन्ध पनि मैले धेरै पहिल्यै बजारको जिम्मा लगाएर हिँडेको कुरा उसलाई भनिन, म यहाँको हावाको बानीदेखी सुरुदेखी नै ससंकित भैसकेको छु।
आफ्नो प्रेमीको अनायस मृत्युले एक रति बाँच्ने आधार नपाएर आत्महत्या गर्न हिँडेकी पागल प्रेमीले उसको छायाँ देखेर पागल भएझैँ म त्यो गल्लीको मीठाई, मसला, धुप र सँगितको मिश्रित सुगन्धले गदगद भएँ। मानौँ यो गल्लीका हरेक वास्नालाई मेरा इनद्रियहरुले युगौँ देखी चिन्दछन। भिमपलासी त झन अब मानौँ मेरो कानमै आएर केहि भन्दैछ।
“कता हरायौ राजा यति लामो समय? मेरो धैर्यको यतिठूलो परिक्षा किन लियौ?”
झन शेहनाइले त रूँदै मलाइ अकंमाल गर्यो।
“भिमपलासीले तिमी गएपछि पनि तिम्रो नाम निरन्तर लिन थालेको साँढे दूई दशक पनि नाघिसक्यो। के प्रेमको परिभाषालाई “प्रतिक्षा” बनाउन तिमिले यस्तो गरेका हौ?”
कथ्थक पनि थचक्क बस्यो।
“तिमीले पनि प्रेमलाई विछोडको अर्को नाम बनाएरै छाड्यौ है?”
“हैन मैले कस्लाई कति र किन यस्तो प्रतिक्षा गराएछु? प्रेमको सहि अर्थ बुझ्न नसक्ने म कस्तो काँचो रहेछु?”
ट्याक्सीबाट ओर्लियँ। रु सयको नोट ड्राइभरलाई दिँदा निकै धेरै दिएको भान परिरहन्छ। दस रुपैँयामा यतिकै दुरी पार गरेको जस्तो लागिरहन्छ। तर म एक्लै थिइन। पक्का। तर यो कसरी सम्भव छ र? यो त मेरो वनारसको पहिलो यात्रा हो नि।
नजिकैको पुस्तक पसलमा ठिक त्यस्तै गणितको पुस्तकमा आँखा गयो मेरो। नकिनी रहन सकिन। किने। हातमा लिएँ। त्यहि ओसिलो गल्लीमा पाइला अघि बढाएँ। उस्तै वासनाहरु मिश्रित वतासले स्वागत गर्यो। त्यो इनार, सँगै कलधारो। त्यसैगरी यत्र तत्र घरका छतका डोरीहरुमा अनि झ्यालहरुमा रँग-रँगका वस्त्रहरु लत्रक्क परेर झण्डाको असफल नक्कल गरिरहेका छन। इँटा छापिएको त्यो गल्लीले घामको मुख हेर्न नपाएको कयौं दशक भैसकेको प्रष्टै छ। त्याहाँका मानिसहरुका अनुहारमा अनि त्याहाँ बज्ने शास्त्रिय संगितका धुनहरुमा पनि घामको अभाव प्रष्ट देखिन्छ अनि सुनिन्छ। एक अर्काको कुरा काटेको कुरा पाइला-पाइलामा सुनियो सँधैझैँ।
यो पुस्तामा पनि एक जना शराबी त्यो गल्लीमा जन्मेरै छोडेछ। उहि ढोकामा त्यसैगरी पइला लर्खराउँदै हात हल्लाइ हल्लाइ कुरा गर्दैछ उ एक जाना सेतो र आकाशे रँगको सारीमा उभिएकी त्यस्तै महिलासँग। जति-जति नजिक हुँदैछु त्यति-त्यति अझ प्रस्ट हुन्छ तिनको आकृति। भिमपलासी आफ्नो स्वर झन ठूलो पार्दै छ, ठ्याकै उस्तै आवाज। शरिर लगभग उत्तिकै सुडोल छ। केश त्यस्तो पुरै कालो रहेनछ अब। यो जीवनको पहिलो भेट हो भन्ने कुराको रत्ति भान छैन अझै मलाइ। वर्ष दिन देखि देखेको सपनाहरुको निरन्तरताको रुपमा पो म यो भेटलाइ लिन खोज्दैछु। अब हात र अनुहारका छालामा परेका चाउरी पनि देख्न थालेँ। ठूलो अपराधबोध हुन्छ मलाइ। मानौँ मैलेनै ति केशहरुमा सेतो रगं पोतिदिएको हुँ। मैले नै ति हातहरुमा चाउरी पारिदिएको हुँ। यत्रो धोखा। प्रेमको र प्रतिक्षाको यत्रो सजायँ किन दियँ मैले भनेर मन भक्कानिन नपाउँदै ति महिला मेरो आँखा अगाडी नै आइपुगिन। भिमपलासीको यति नजिक म एक युग पछि भएँ।
कथाले आँखाहरु भरिएपनि ओठबाट एक शब्द चुहिएन। टलपल टल्किएका आँखाहरुले एकै पटकमा बर्षौँदेखि चिनेझैँ, सदियौँको तपस्याको अन्त्य भएझैँ, भगवान बुद्धले समेत कल्पना सम्म पनि गर्न नसकिने पापको माफी सजिलै दिएझैँ….. भित्र जान अथाह स्नेहले मलाइ प्रेरित गर्यो। दोभानमा छुटिएर फेरी मिलेका नदिका दुईधार झैँ अनुभव गरेँ। सायद उनले पनि तयस्तै अनुभव गरिन। इतिहासले त्यस्तै इगिंत गर्छ। नसोधिकनै मलाई उनको नाम थाहा छ। मेरो छोरीको नाम पनि त्यहि राखेको थिएँ। उ दूई बर्षको भई अघिल्लो महिना। इनटरनेटमा कयौँ दिन खोजेर देख्नासाथ घोषणा गरिदिएको थियँ। सबैलाई मन परेको थियो। उस्ले पनि एकजाना आफू जसतै देखिने तर २४-२५ बर्षकी तानपुरा मिलाउँदै गरेकी एक युवतिलाई देखाउँदै आफ्नो छोरीको परिचय दिइ। मेरा आँखाबाट नदिको भेलझैँ आँशु बग्यो। लोग्ने मान्छेले यसरी पनि रुन्छ भन्ने आफ्नै रोदनलाई सुनेर बल्ल थाहा पायँ। लगभग आफ्नै उमेरकी युवतिलाई छोरी भनेर बोलाउने आँट पनि भएन र मेरो नास्तिक धर्मले पनि दिएन।
मैले फर्किने वाचा गरेर हिँड्दा उ जन्मेकी थिइन। म एक महिनामा फर्किनेनै थियँ। त्यो रात पुरै गफ गरेर बस्यौँ हामी। मँ चढेको बस त्रिशुलीमा खसेको झुठो खबर उसलाई नभनिएको पनि होइन रहेछ। तर मेरो वाचामा परेर आज नभए भोली फर्किन्छु भन्ने अटल विश्वासमा बिताइछ उस्ले साँढे दूई दशक। एक महिना पछि आउनु र आज आउनुमा केहि फरक भएन रे उसलाई। राति नै विहानैको फ्लाइट बुक गरेँ। भाइबरमा पनि खबर गरिदिएँ।
पुरानो घाउ कोट्याउँदा पिडा हुन्छ भन्ने सुनेको मेरोलागि गलत प्रमाणित भयो। एउटा अधुरो तर नगरेको वाचा पुरा गरेँझैँ लाग्यो। प्लेनका पाङ्ग्राले काठमाण्डौँ टेक्दाम्म पनि म कुन युगमा छु छुट्याउन सकिन। फोन आयो अनि एउटा युगको अन्त्य भएको भान भयो। तर युगलाई जोड्ने र जीवनलाई अर्थ दिने धागोको अन्तय भएन।