सार
यो लेखको मुख्य उद्ध्यस्य नव-नास्तिकवादको उदयको समालोचना गर्दै त्यसको नेपाली समाजमा सन्दर्भ, प्रभाव र महत्वको बारेमा विवेचना गर्नु रहेको छ। उपर्युक्त उद्ध्यस्य प्राप्त गर्न सर्व प्रथम (नव) नास्तिकवादको ऐतिहासिक उदयको संक्षिप्त विवरण पेस गरिएको छ। त्यसपछि क्रमस इश्वरको परिभाषा, नास्तिकहरुले ईश्वरलाई स्विकार गर्न आवश्यक न्युनतम मापदण्ड, नास्तिकहरुको नैतिकताको श्रोत र नव-नास्तिकवादको बिषयमा नेपाली सान्दर्भिकताको विषयमा छलफल गरिएको छ।
- नव-नास्तिकवादको ऐतिहासिक उदय
नव-नास्तिकवाद (New Atheism) शब्दको पहिलो प्रयोग एक जाना अज्ञेयवादि (Agnostic) पत्रकार ग्यारि उल्फ (Gary Wolf) ले सन २००६ मा पछिल्ला केहि दशकका श्याम ह्यारिस (Sam Harris), क्रिसटोफर हिचेनस् (Christopher Hitchens), रिचर्ड डकिन्स (Rischard Dawkins) र ड्नियल डेनेट (Daniel Dennett) जस्ता लेखक एवं दार्शनिकहरुको विचारलाई प्रतिविम्वित गर्न प्रयोग गरेका थिए [१]। अनुसुचीको टेबल नं १ मा यी लेखकहरुका नव-नास्तिकवादी विचारमा भुमिका खेलेका प्रमुख कृतिहरु प्रस्तुत गरिएको छ। तर यसको आर्थ यो होइन कि नास्तिकहरु यी कृतिहरुको प्रकासन भन्दा अघि कतै पनि थिएनन्, न कृतिमा न वास्तविक जीवानमा। नव-नास्तिकवाद नास्तिकवादको प्रखर प्रवक्ता मात्र हो। जसको कारण नास्तिकवाद बृहत रुपमा सार्वजनिक भएको छ र आम पाठकहरुको माझमा नास्तिकवादको सैधान्तिक औजार सर्व-सुलभ उपलब्ध भएको छ। र आज नास्तिकवादीहरु (Atheists), अज्ञेयवादिहरु, कुनै पनि धार्मिक समुहमा आब्द्ध नहुनेहरु (Unaffiliated), स्वतन्त्र विचारकहरु (Freethinkers) र मानववादीहरु (Humanists) विश्व जनसंख्याको हिसाबले तेस्रो भैकन पनि सार्वजनिक जीवन एवं वैचारिक र महत्वपूर्ण नीतिगत प्रश्नहरुमा आफ्नो आवाजको प्रतिनिधित्व गराउन पछि परेको कुरा सोच्न थालेका छन। यसलाई नै प्रभावको हिसाबले नव-नास्तिकवादको उदय भन्न सकिन्छ [२]। Pew Research Center ले सन २०१५ मा बिभिन्न धार्मिक समुहहरुको विश्व जनसंखयाको अनुपात टेबल २ अनुसार अनुमान गरेको थियो। टेबल २: बिभिन्न धार्मिक समुहहरुको बिश्व जनसंख्या
समुह | जनसंख्या (अरबमा) | अनुपात (प्रतिशतमा) |
कृष्चियन (Christians) | २.३ | ३१.२ |
मुस्लिम (Muslims) | १.८ | २४.१ |
कुनै समुहमा आब्द्ध नभएका (Unaffiliated) | १.२ | १६ |
हिन्दु (Hindus) | १.१ | १५.१ |
बौद्ध (Buddhists) | ०.५ | ६.१ |
अन्य (Others) | ०.५१ | ६.७ |
श्रोत: Pew Research Center, 2015.
नव-नास्तिकवादको वृहत सामाजिक उदयमा सामाजिक सन्जाल (जस्तै: Facebook, YouTube, Twitter) हरुको उल्ख्य योगदान रहेको कुरा सहज अनुमान गर्न सकिन्छ [३]। YouTube जस्ता सामाजिक संजालहरुमा करोडौँ संख्यामा नव-नास्तिकहरुको Followers हरु भएकोले पनि यो कुरा सावित गर्दछ ।
यस लेखमा नव नास्तिकवादी धार भन्नाले नास्तिकवादीहरु, अज्ञेयवादिहरु, कुनै पनि धार्मिक समुहमा आब्द्ध नहुनेहरु, स्वतन्त्र विचारकहरु र मानववादीहरु जो खुला रुपमा आफ्नो आवाज व्यक्त गर्न खोज्नेहरुलाई जनाइएको छ ।
- ईश्वरको परिभाषा
ईश्वरको परिभाषा विना यसको अस्तित्वलाई झूठ या साँचो प्रमाणित गर्न सकिन्न । (नव) नास्तिकवादले कुन ईश्वरको अस्तित्वलाई नकारेको वा कम्तिमा शंका गरेको हो त ? एउटा “किताब”लाई ईश्वर भनेर परिभाषित गर्दा “किताब”को अस्तित्व हुनु नै ईश्वरको अस्तित्वको प्रमाण हो किनकी “किताब”को अस्तित्व प्रमाणित छ। नास्तिकवादले त्यस खालको ईश्वरको कुरा गर्देन । यहाँ ईश्वर भन्नाले उसलाई बुझिन्छ जो
- सर्वशक्तिमान छ (Omnipotent)
- सर्वज्ञानी छ (Omniscient)
- सर्वव्यापी छ (Omnipresent)
- सर्वोच्च दयालु छ (Maximum benevolent)
- अत्याधिक न्याय दिन सक्छ (Maximum Justice)
यो परिभाषामा ब्रहमाण्बाट बाहिर मानव चेतना भन्दा पर रहने उदासिन (Indifferent) ईश्वर पर्दैन र यस्तो उदासिन ईश्वरको अस्तित्व प्रमाणित गर्न पनि सकिँदैन, केवल तर्क र वितर्क मात्र गर्न सकिन्छ । यो लेखमा ईश्वर भन्नाले माथि उल्लीखित ५ क्षमता भएको कुनै पनि कुरा बुझ्नुपर्दछ।
के यसरि परिभाषित ईश्वरको अस्तित्व झूठो या साँचो प्रमाणित गर्न सकिन्छ त? कार्ल पोपरको (Karl Popper) को मापदण्डलाई आधार मान्दा यस्तो ईश्वरको अस्तित्व सम्बन्धी प्रश्न एउटा वैज्ञानिक प्रस्न हो जस्लाई प्रमाणको आधारमा कम्तिमा पनि झूठो सावित गर्न सकिन्छ यदी ईश्वरको अस्तित्व झूठो हो भने । किनकि यस्तो ईश्वरको अस्तित्वले संसारिक विषयहरुमा सटिक अनुमानहरु लगाउँदछ, जसको सत्यता प्रयोग (Experiment) वा अवलोकन (Observation) बाट गर्न सकिन्छ [४]। के प्रयोग वा अवलोकनले ईश्वरको अस्तित्व प्रमाणित गरेको छ त? छैन । कुनैपनि वैज्ञानिक प्रयोग वा अवलोकनले ईश्वरको अस्तित्वले गर्ने कुनैपनि अनुमानलाई प्रमाणित गरेको प्रमाण भेटिन्न । सत्यको अन्तिम छिनोफानो केवल प्रमाणले गर्न सक्छ जस्को केवल २ वटा श्रोत छ: प्रयोग र अवलोकन । व्यक्तिगत अनुभव, पुस्तक या कथा सबैभन्दा न्यून कोटिको प्रमाण हुन । यस सन्धर्वमा ३४२ ईशापूर्वका Epicurus को निम्न भनाइ तार्किक दृष्टिकोणले सटिक मान्न सकिन्छ, यद्धपि तर्क आफैँमा प्रमाण होइन।
“Is God willing to prevent evil, but not able? Then he is not omnipotent.
Is he able, but not willing? Then he is malevolent.
Is he both able and willing? Then whence cometh evil?
Is he neither able nor willing? Then why call him God?”
- के नास्तिकहरुले कहिल्यै ईश्वरलाई स्विकार गर्दैनन त?
पक्कै पनि गर्छन । किनकी नास्तिकवाद न वाद हो न आस्था नै हो । यो त केवल ईश्वर प्रतिको आस्थाको अभाव हो, कारण जे सुकै होस । जसरी कुनै खेल नखेल्नु खेल हइन र कुनै लुगा नलगाउनु लुगा होइन, त्यसै गरी नास्तिक हुनु कुनै किसिमको आस्तिकता होइन। त्सैले नास्तिकहरु कुनै नभएको सिद्धान्त प्रति बफादार छैनन । आस्तिक शब्दको विपरितार्थको रुपमा मात्र नास्तिक शब्द पहिचानवादी बिषेशणको रुपमा प्रयोगमा छ। जहाँ आस्तिकहरु छैनन, त्यहाँ नास्तिकहरु अस्तित्वमा हुनै सक्दैनन्।
त्यसो भए, कुन सर्तमा नास्तिकहरु आस्तिक होलान त? जुन दिन ईश्वरले आफ्नो अस्तित्व सारा मानव जातिका सामु “आकाश च्यातेर” “म छु” भनेर दिन्छन (जुन कुरा गर्न माथि परिभाषित ईश्वर सक्षम छन र दयावान हुन भने तुरुन्तै गर्ने पनि छन) वा २ बर्षे बालकको भोको पेट नखाइकनै भरिदिन्छन वा निर्दयी प्रकोपमा टुटेका मनहरु आफसेआफ जोडिन्छन वा सबै स्वंले सृजना गरेका रोग व्यादको अन्त गर्छन वा सबै नास्तिक मस्तिष्कको जन्मलाई भूल हो भन्छन त्यसै दिन सबै नास्तिकहरु आस्तिक हुन्छन । ईश्वरको अस्तित्व प्रमाणित गर्न छेरै सहज छ यदि वास्तवमै ईश्वर छन् भने । त्यती सहज हुँदाहुँदैपनि प्रमाणित गर्न सकिन्न भने कम्तिमा पनि अज्ञेयवादि (Agnostic) हुनुको अर्को प्राज्ञिक विकल्प छैन ।
- नास्तिकहरुको नैतिक मान्यताको श्रोत
स्वभाविक प्रस्न उठ्ने गर्दछकि यदि आस्थिक हरुको नैतिकताको श्रोत ईश्वर या ईश्वर निर्देसित पुस्तक हुन भने नास्तिकहरुको नैतिकताको श्रोत के हो? नास्तिकहरु आफ्नो नैतिकताको श्रोत बिभिन्न बताउने गर्दछन । यस लेखमा सामान्यतय प्रयोग हुनसक्ने नैतिकताका श्रोतहरुको विवेचना गरिएको छ।
प्रथमत, श्रोतको जानकारी विना पनि नैतिक व्वहारको प्रदर्शन हुन सक्दछ । फेरी नैतिक मुल्य कुनै किताब वा दर्शन बाट नभइ डारविनको मानव विकासको (Human Evolution) क्रममा प्राकृतिक रुपमा Survival को निमित्त उत्पत्ति भएको हुन सक्ने कुरालाई कैयौँ अध्ययताहरु बताउने गर्दछन [५]। यस कुरालाई अन्य प्राणीमा स्वभवत देखिने न्युनतम नैतिक व्यवाहारले पनि पुष्टि गर्दछ । आम मानिसले सामान्य तया अपराध गर्नुको कारण कुनै पुस्तक वा कानुन नपढेर होइन बरु अपराध नगर्नु उस्को प्राकृतिक गुण भएकोले गर्दा हो भन्ने प्रसस्तै आधारहरु भेट्न सकिन्छ । के कानुन मा चोरीको सँजाय हटाएमा सबै चोर हुनछन् त? के अधिकाशं मानिसले नचोर्नुको कारण सँजाएको (पृथ्विमा वा स्वर्गमा) डर मात्र हो त?
दोस्रो, हरेक समुदाय या राष्ट्रका मान्छेले केहि गोल्डेन रुल (Golden Rule) हरु स्थापित गरेका हुन्छन (यसका प्रसस्तै उदाहरण छन) जसले गर्दा समाजको सन्तुलीत संचालन हुन सकोस। मानिसले एक अर्का संगको अन्तरकृया वा व्यवाहार बाट पनि यस्ता गोल्डेन रुलहरु आविस्कार गर्ने गर्दछ । जस्तै: म त्यो कुरा अरुलाई गर्दिन जुन कुरा अरुले मलाई नगरोस भन्ने चाहान्छु ।
नास्तिकहरुको लागि नैतिकताको एक मात्र निरपेक्ष श्रोत नभई यी र यस्तै अनेक समय सान्दर्भिक श्रोतहरु हुन सक्दछ किनक प्राय नास्तिकवादीहरु नैतिक मुल्यलाई सापेक्ष मान्दछन । अझै मानव, समाज र विज्ञानको विकासको क्रममा नैतिकताका मुल्य र मान्यताहरु परिवर्तित पनि हुन सक्दछन भलै कुनै कुराहरु जस्तै सति प्रथा सदैव अनैतिक या वर्जित पनि हुन सक्दछन (निरपेक्ष नैतिक मान्यता)। यस सन्दर्भमा Moral Landscape: How Science Can Determine Human Values? मा लेखक स्याम ह्यारिस (Sam Harris) ले नैतिकताको वैज्ञानिक आधारकाबारेमा धेरै तर्क र प्रमाणहरु पेश गरेका छन [६]। त्यस्तै, लेखक क्रिष्टोफर हिचेन्स (Christopher Hitchens) ले ईश्वर वा धर्म किन नैतिकताको सहि श्रोत हुन सक्दैन भन्नी सन्दर्भमा प्रसस्त तर्क र प्रमाणहरु पेश गरेका छन [७]। उनी धर्मलाई नैतिवान समाज निर्माणमा बाधा हो भन्छन। यस हिसाबले उनले आफुलई Antitheist पनि भनेका छन [८]।
“I am not even an atheist so much as an antitheist; I not only maintain that all religions are versions of the same untruth, but I hold that the influence of churches and the effect of religious belief, is positively harmful.”
- नव-नास्तिकवादको बिषयमा नेपाली सान्दर्भिकता
यो विषय के नेपाली समाजमा सान्दर्भिक छ त? दुई कारणले छ ।
- नास्तिकहरु प्रति विश्वव्यापी र विषेष गरेर विकास्वनमुख समाजहरुमा हुने भेदभाव
- नेपालको राजनितिमा कम्न्युष्टहरुको प्रभुत्व र तदनुरुपको नास्तिकवाद प्रतिको सामाजिक अवधारणा
संसारमा १३ भन्दा धेरै राष्ट्रहरुमा ईश्वरको अस्तित्वमा केवल वैचारिक वा सांकेतिक प्रस्न उठाउँदा मृत्युदण्डको सजायको व्यवस्था रहेको छ। अन्य कयौँ अस्तित्व ईश्वर निन्दा विरुद्धको कानुन (Blasphemy law) का नाममा हजारौँ विचारकहरु राज्यद्वारा प्रताडित छन । भारत, बगंलादेश, पाकिस्तान जस्ता राष्ट्रहरुमा कयौँ विचारकहरु बर्षेनि सडकमा वा आफ्नै घर आँगनमा मारिएका पनि छन [९]।
नेपालमा नास्तिकहरु प्रति केहि नकारातमक सोच रहेता पनि, सामान्य तया सहिष्णुतापूर्ण व्यवहार नै भएको पाईन्छ । यसमा चारवक जस्ता ऋषिहरु प्रति समाजमा रहेको श्रध्धा र बुद्ध स्वं पनि एक अर्थमा भौतिकवादी भएकाले भुमिका खेलेको हुन सक्छ। तर ईश्वर निन्दा विरुद्धको कानुनको दुरुप्रयोग बढ्ने खतरा सधैँ यथावत नै रहेकोछ। युवाहरु सामाजिक सन्जालबाट नव-नास्तिकवादको बिषयमा शिक्षित भै रहदा घरपरिवार वा समाजबाट भेदभाव मा पर्ने समस्या पनि छ। नास्तिकतालाई कम्न्युष्टसगँ जोडेर हेर्ने अभ्यास प्रसस्तै भेटिन्छ।
त्यसतै, नेपालमा राजनैतिकरुपमा कम्न्युष्टहरुको अत्याधिक प्रभुत्व हुँदाहुँदै पनि किन नास्तिक हरुको उल्यख्य उपस्थिति नदेखिएको होला भन्नी स्वभाविक Research question उठ्दछ। यस प्रस्नको सम्भावित ३ किसिमका उत्तर हुन सक्दछ, जसलाई भविष्यमा थप अनुस्धान गरेर प्रष्टयाउनु आवश्यक छ ।
- हरेक दश बर्षमा हुने जनघणनामा धार्मिक आस्था सम्बन्धि प्रस्नको शोधाइमा कमजोरी । जसतै, घरमुलीको धर्मलाई नै परिवारको नै धार्मिक आस्था मानिनु वा धर्म सम्बन्धी प्रस्नको जवाफ अनुमानका भरमा लेख्नु।
- नास्तिक सम्बन्धि व्यवस्था नै प्रस्नमा नहुनु र तथ्याङ्क संकलकहरुमा यस सम्बन्धि यथ्यास्ट ज्ञान नहुनु वा नास्तिकहरुको उपस्थितिलाई वेवास्ता गर्नु ।
- कम्न्युष्टहरु आफैँलाई नास्तिकको रुपमा समाजमा परिचित गर्न नरुचाउनु वा उनीहरु वास्तवमा नास्तिक नै नहुनु ।
यस हिसाबले नास्तिकवादको गहन छलफल नेपाली समाजमा पनि उत्तिकै सान्दर्भिक छ भन्न सकिन्छ । नव नास्तिकवादको प्रभावको रुपमा सामाजि सन्जालहरुमा केहि नास्तिकवादी समुहहरुको सकृयता महसुस गर्न सकिन्छ । बिभिन्न गैर सरकारी संस्थाका रुपमा पनि यस समुदायको सानो उपस्थिति देख्न सकिन्छ, जसको मुख्या ध्यान कुरिति विरुद्ध केन्द्रित रहेका छन [१०,११]।
- सन्दर्भ सामाग्री
[१] https://www.wired.com/2006/11/atheism/[२] The Changing religious landscape, Pew Research Center demographic projections, 2015 [३] Christopher Smith and Richard Cimino (2012), Atheisms Unbound: The Role of the New Media in the Formation of a Secularist Identity Secularism and Non-religion, 17-31[४] Popper, K. (1935), the Logic of Scientific Discovery, Routledge
[६] Harris, Sam. (2010), Moral Landscape: How Science Can Determine Human Values? Free Press.
[७] Hitchens, Christopher. (2007). God is not great: How Religion Poisons Everything. Hachette Book Group.
[८] https://en.wikipedia.org/wiki/Portal:Nontheism/Quotes/April_18
[९] Annual Report of the United States Commission on International Religious Freedom, Annual Report, 2018, Washington DC.
[१०] www.nashnepal.org
[११] https://www.sochnepal.org/
- अनुसुची:
लेखकहरु | कृतिहरु | प्रकाशन बर्ष |
Sam Harris | A letter to a Christian Nation
Moral Landscape: How Science Can Determine Human Values? |
2006
2010 |
Richard Dawkins | Selfish Gene God Delusion |
1976
2006 |
Christopher Hitchens | God is not great: How Religion Poisons Everything | 2007 |
Danial Dennett | Breaking the Spell: Religion as a Natural Phenomenon | 2006 |