बडाबा र रातो कुर्सी

निशन्तान र एक्ला बडाबाले दुधको व्यापार गरेको ५० वर्ष भयो रे। बडाबा २५ बर्षका हुनुहुन्थ्यो रे सुरू गर्दा। बडाबा बस्ने बडेमाको रातो कुर्सीको बस्ने भागमा धुलो बस्न पाएको थिएन। बडाबा उमेरले गल्नु केहि बर्ष अघिदेखि दुध निकै मात्रामा बिक्री हुन थाल्यो। दुध महँगो भए पनि सुद्ध र गुणस्तरीय भएकोले सोहि गाउँ-टोलका मात्र नभएर छर-छिमेक गाउँ सहरका पनि सबै हुनी खानी दुध लिन बडाबाकोमा नै धाउँथे। चाहे चाडबाड होस, चाहे भोज भत्तेर। बडाबाको दुधले चिया पनि औधि मिठो हुने। सबैजाना त्यहि भन्थे। पछि बडाबाले पनिर, दहि, महि सबै बनाएर बिक्री गर्न थालेका पनि थिए।

बडाबाले काम एक्लै धान्न गाह्रो हुने भए पछि सँधै बडाबाकोमा दुध, पनिर, दहि आदि किन्न आउने माइलालाई नै जागिर पनि दिए, छिमेकको सानेले पनि त्यहिँ काम पायो, राम्रै तलबमा। काईँला, रामे, श्यामे, मसिनी सबैले धमाधम काम भेटे बडाबाको दुध पसलमा। तर सबैजाना दिनभरी उभिएरै काम गर्थे। काम के हुनु र? दुध दुउनी, तताउनी, पोको पार्नी, नाप्नी, चाख्नी, हिसाब मिलाउनी आदि हुन्थ्यो। मजाले गर्थे सबैले। दिनको एक-एक गिलास दुध सबै कामदारलाई सित्तैमा दिन्थे बडाबा। तर नाफाको सुक्को बाँडेनन्। आश त सबैलाई लाग्थ्यो नै।

त्यो ठूलो रातो कुर्सी बाहेक अरू साना-साना निला, पहेँला, अग्ला, होचा, हल्लीनी, घोच्नी सबै खाले कुर्सीहरू थपिन थाले पसलमा। उभिँदा खुट्टा करकर खाएको गनगन सुनेको निकै भएको थियो बडाबाले। नाफा राम्रै भएकोले कुर्सी थपिए पनि। कुर्सी नभेट्नेहरूले पिर्कामा उभिएर धोको पुर्याउन थालेका थिए। केहि पनि नभेट्नेहरू दिनको एक पटक कुर्सी पाए कुर्सी, नपाए पिर्काको छेउछाउ रूँगेर मन बुझाउँथे। कोहि त कुनबेला कोहि पाईखाना जाला र कुर्सी खाली होला अनि एक्कैछिन भएपनि बसौँला भनि एक टकले कुर्सीलाई हेरिरहन्थे। तर रातो कुर्सीमा चाहिँ हत्तपत्त कसैले पनि आँखा लाउने आँट गरिसकेको थिएनन्।

कुर्सी र पिर्काले ठाउँ भरिएपछि दुध कता राख्ने, तताउने कता हो, नाप्ने कता, किन्न आउनेलाई काहाँ कुराउने, काम गर्न यताउती निकै गर्न पर्ने कुरोलाई कसरी मिलाउने आदि कुराले बडाबालाई बिस्तारै-बिस्तारै चिन्तित तुल्याउन थालेको थियो। सबै जाना कुर्सी र पिर्कामा बस्ने र कोहि तिनैलाई चक्कर लाउने वा आँखा तरेर बस्न थालेपछि काम बिग्रन सुरू भयो। बडाबा थला पर्ने गरी बिरामी भएपछि उनलाई माथ्लो तलाको हल्लीने बाङ्गो खाटमा लगेर राखियो। त्यहि बेलामा त्यहि कोठामा अर्को दुईवटा रित्ता कुर्सी देखेर तिनछक परे रामे, श्यामे र मसिनी। भोली देखि त्यहिँ माथि नै गएर मजाले दिनभरी बसेर धित मार्ने निधो पनि गरिहाले। खुट्टा नि नदुख्ने, रिसाएका ग्राहकको गन गन पनि सुन्न नपर्ने। मान्छे तीन कुर्सी दुई। कसरी मिलाउने भनेर के छलफल गरे उनैले जानुन्। तर अरू कसैलाई पत्तै नदिने कुरामा आम सहमति नै भयो तीनजाना बीच।

दुध कहिले फाटेर खेर जान थाल्यो, कहिले पैसाको हिसाब गडबड, कहिले पनीर गन्हाएर हैरान। ग्राहकको गुनासाका चाँग लाग्न थाल्यो। तर दुध बिक्री नभए पनि बडाबाको पसल बाटैमा परेकाले राम्रो मुल्यमा भाँडामा लाएर खान वा बेचेर भाग लाउन पनि मिल्ने भएकोले सबैजनालाई हाइसञ्चो नै थियो। नाक-कान थुन्न र आँखा बन्द गर्न जानेपछि केहि जान्न नपर्ने भयो। बडाबाले जोडेको सामान एकएक गरेर लिलामी गर्दै तलब थाप्न थाल्या त २ बर्ष भैसक्यो।

बडाबा बोल्न पनि गाह्रो हुने स्थितिमा पुगिसकेका थिए, केहि नभनी केवल हेरेर मात्र पल्टिरहन्थे। अब रातो कुर्सीमा को बस्ने भनेर गलफत्ती त सुरू हुने नै भयो। अझ त्यो खाट खाली भएपछि, त्यो खाटमा सबै भन्दा पुरानाले सुत्न पाउनु पर्छ, त्यो माथिको दुईटा कुर्सीमा पालैपालो अलि कान्छाहरूले बस्न पाउन पर्छ भनेर प्रसस्तै गाईँगुईँ पनि सुनिनु सामान्य भयो। दुधका ग्राहाक लाखापाखा लागे। भएका पनि लाइनमा बस्दा-बस्दा हैरान। दुध घर लग्यो, बाटामै फाट्ने समस्या उस्तै।

समस्या समाधान गर्न दिनदिनै मिटिङ्ग हुन थाल्यो।

कोहि भन्थे, “हैन हाम्रो काम दुध बेच्ने हो, दहि बेचेर यस्तो भएको हो। पनिर त झन बेच्नै हुन्न।”

अर्कोले भन्यो, “हैन यो मेरो कुर्सी हल्लीएकोले दुध बिक्री गर्न गाह्रो भएर पो हो त। पहिला मेरो कुर्सी बनाउन पर्यो।”

तेस्रोले भन्यो, “काँ हुन्छ? दुध मसिनीले तताउन थाले देखि यस्तो भएको हो। त्यहाँ साँइलाको नियुक्ति होस।”

चौथोले भन्यो, “अब दुध निर्यात गर्नु पर्छ बिदेशमा। अनि बल्ल हामी अन्तराष्ट्रिय हुन्छौँ”

बडाबा कोरोनाले विते। सबैतिर बन्दाबन्दि भयो। दुध त बिक्री गरे गर्न सकिन्थ्यो कोरोनामै पनि। तर सबैको मन र वचन त्यहि रित्तिएको रातो कुर्सी, हल्लीने खाट, माथ्लो तलाको दुई धुले कुर्सीमा बस्न थाल्यो। पुराना र बुढा माथि गएसी, तलका केहि कुर्सी खाली हुनी भयो नै युवाहरूको लागि। बालख पिर्केहरू बीच अब खाली भएको कुन कुर्सी कस्ले पाउने भनेर हानथाप पनि हुन थाल्यो। पिर्का पनि केहि खाली हुने देखेर, पहिले टोलाउने र रूँग्नेहरू काखेहरू अब पिर्कालाई झम्टिन थाले। रूँग्न नि नपाउनेहरूले रूँग्ने पालोको निम्ती रँडाको गरे।

कुरो टुँगो लागाउन अब भोली आएर मिटिङ गरौँला भनेर एकदिन सबै घरतिर लागे। भोली पल्ट आउँदा, न पसल थियो, न कुर्सी, न त दुध नै कतै देखिन्थ्यो। बडाबाले श्री सम्पती सबै टोलको पुरानो एउटा गुठीलाई दान गर्दिएछन् जानु अघि। गुठिले सामान सबै लिलाम गरेर पसलमा आफ्नो कार्यालय राख्न भनेर सिकर्मीहरू ठाक-ठूक गर्दै थिए। जागिर खान अर्को दुध पसलको खोजी गर्ने निर्णय गरेर मिटिङ सकियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *